रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति,सम्पत्ति शुद्धीकरणमा अनुसन्धान

८ कार्तिक पोखरा ।सहकारी बचत अपचलन तथा संगठित अपराध अभियोगमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

कास्की जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेलाई अनुसन्धानका लागि हिरासतमा राख्न थप ७ दिनको अनुमति दिएको हो ।

कात्तिक २ गते शुक्रबार पक्राउ परेका रविलाई ४ गते पक्राउको मितिबाट गणना हुने गरी अदालते ६ दिन म्याद थपेको थियो ।साथै सभापति लामिछानेलाई सम्पत्ति शुद्धीकरणको मुद्धामा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।

सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ पूर्जी लिएर प्रहरीले २ कात्तिकमा लामिछानेलाई पक्राउ गरेको थियो । बिहीबार म्याद थपका लागि जिल्ला अदालत, कास्कीमा उपस्थित गराउँदा भने सम्पत्ति शुद्धीकरणको मुद्धा पनि थपिएको हो ।

आफूमाथि सम्पत्ति शुद्धीकरणको मुद्धामा पनि अनुसन्धान प्रक्रिया अगाडि बढाउन लागिएपछि लामिछाने बिहीबार इजलासमै आक्रोशित रुपमा प्रस्तुत भएका थिए ।उनले आफू अन्यायको शिखरमा उभिएर न्यायको याचना गरिरहेको बताएका थिए।

आफूलाई राज्यले हद गरेको उनको आरोप छ ।थुनामा राखिएको, राज्यले दम्भ देखाएको, बयान नलिइएको, छलिएको लगायत उनको आरोप छ ।

सूर्यदर्शन सहकारीको बचत रकम अपचलनमा संलग्न रहेको आरोपमा पक्राउ परेका लामिछानेलाई संसदीय छानबिन विशेष समितिले सहकारीको रकम गोर्खा मिडियामा आएको र गोर्खा मिडियाको कारोबारमा रवि लामिछाने संलग्न रहेको भन्दै आवश्यक कारबाही गर्न सिफारिस गरेको थियो ।