
१० कात्तिक, काठमाडौं।वन तथा वातावरण मन्त्रालयले विज्ञ तथा सरोकारवालाको आगामी कोपमा प्रस्तुत गर्ने एजेन्डा र भूमिकालगायत विषयमा आयोजित तीनदिने गोष्ठी शुक्रबार सम्पन्न गरेको छ ।
आगामी नोभेम्बर ११ देखि २२ तारिख अर्थात यही कात्तिक २६ देखि मङ्सिर ७ गते सम्म अरजरबैजानको बाकुमा हुन गइरहेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसिसिसी) का पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप –२९) मा प्रस्तुत गरिने एजेन्डामाथि छलफल गरिएको छ।
यी हुन् मुख्य एजेन्डा :-
जलवायुजन्य जोखिम न्यूनीकरण गर्न र मुलुकको समग्र हितका लागि सरकारले मुख्य छ ओटा एजेन्डालाई उच्च प्राथमिकता दिएर तयारी थालिरहेको छ।वन तथा वातावरण मन्त्रालयका सहसचिव डा.बुद्धिसागर पौडेलका अनुसार जलवायु वित्त,जलवायुजन्य हानि–नोक्सानी,न्यूनीकरण कार्बन व्यापार,उत्सर्जन मापन,पर्वतीय मुद्दा प्रविधि र क्षमता अभिवृद्धि,जलवायु परिवर्तन अनुकूलन,समावेशिताको ६ ओटा विषयगत कार्यपत्र तयार पारिएको छ।
“नेपालको राष्ट्रिय स्थितिपत्र पनि तयार भएको छ,यसमा राष्ट्रिय अवधारणापत्र, जलवायु अनुकूलन,जलवायु वित्त, कृषि र खाद्य प्रणाली,स्वास्थ्य र जलवायु परिवर्तन,ऊर्जा सङ्क्रमण र दक्षता,पानी र जलवायुजन्य कार्यजलवायुका लागि प्रकृति लगायतका विषयवस्तु समावेश गरिएको छ,” उनले भने, “आगामी कोपलाई थप उपलब्धिमूलक बनाउन राम्रो तयारी भइरहेको छ, विभिन्न सरोकारवालाको धारणा पनि समावेश गरेर हामीले कोपको एजेन्डा तर्जुमा गरेका छौँ।”
गत वर्ष युएइको दुबईमा भएको कोप–२८ मा स्थापना गरिएको जलवायुजन्य हानि–नोक्सानीसम्बन्धी कोषको प्रभावकारी कार्यान्वयनका लागि पनि दबाब दिने पौडेलले जानकारी दिए।“नेपालले जलवायु परिवर्तनसम्बन्धी पहिलो द्विवर्षीय पारदर्शिता प्रतिवेदन,बिटिआर तयार गर्ने कार्य भइरहेको छ,” उनले भने “ नेपालको तेस्रो राष्ट्रिय निर्धारीत योगदान तयारीका लागि बहुपक्षीय प्राविधिक समिति गठन भई कार्य अगाडि बढेको छ ।”
जलवायु विज्ञहरुले पनि नेपालले आगामी कोपमा जलवायु वित्तीय दायित्व बढाउन दाबाब दिइनेगरी आफ्नो एजेन्डा तय गर्नुपर्ने सुझाव दिएका छन् ।
