आज गणेशमान सिंहको ११० औँ जन्मजयन्ती मनाइँदै

२४ कार्तिक,काठमाडौं।प्रजातन्त्र पुनःस्थापनाका लागि २०४६ सालमा भएको जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहको ११०औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रुपमा लिइने सिंह सबैको निष्ठाको केन्द्र बन्न सफल भएका थिए।विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्र शाहले प्रधानमन्त्री बन्न गरेको आग्रहमा उनले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमूना प्रस्तुत गरेका थिए ।

त्यागबाट राजनीतिक जीवन सुरु गरेका सिंहले १९९७ सालदेखि २०४६ सालसम्म आन्दोलन गरेर प्रजातन्त्रका लागि योगदान गरेका थिए ।कसैलाई विश्वासघात नगर्ने अन्य पार्टीको पनि विश्वास र मन जित्ने खालको स्वभाव भएका उनको  जन्मजयन्तीका अवसरमा फाउन्डेसनले जिल्ला जिल्लामा कार्यक्रम गर्न लागेको जनाइएको छ ।

यस अवसरमा आज भक्तपुरको कटुञ्जेस्थित गणेशमान सिंह वाटिकामा मानवअधिवारवादी नेता प्रा. कपिल श्रेष्ठलाई विशेष सम्मान गर्न लागिएको छ ।शोभाभगवतीस्थित गणेशमान सिंहको प्रतिमामा माल्र्यापण सहित विशेष कार्यक्रम गर्न लागिएको पनि फाउन्डेसनले जनाएको छ ।

त्यस्तै यस अवसरमा नेपाली कांग्रेस र यसका भ्रातृ एवं शुभेच्छुक सङ्घसंस्थाले पनि आज गणेशमान सिंह प्रतिष्ठानले रत्नपार्कस्थित शान्तिवाटिकामा कार्यक्रम गर्ने जनाइएको छ ।

उनले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक दल प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाएका थिए ।राणाशासन अन्त्य गर्ने अभियानमा लागेपछि उनीलगायत नेतालाई तत्कालीन सरकारले जेल हाल्यको थियो ।

देशमा प्रजातन्त्र बहाली र पुनःबहालीका लागि समर्पित सिंह सैद्धान्तिक हिसाबले बिपीका अनुयायी र सबैभन्दा ठूला समर्थक थिए ।विसं २०१५ मा पहिलो निर्वाचन भएपछि बनेको सरकारमा वरिष्ठ मन्त्री भएका गणेशमानले २०१७ सालमा प्रजातन्त्र खोसिएपछि आठ वर्ष निरन्तर पहिले सिंहदरबार र त्यसपछि सुन्दरीजल बन्दीगृहमा कारावास जीवन बिताए।

विसं १९७२ कात्तिक २४ गते काठमाडौंको क्षेत्रपाटीमा जन्मिएका नेता सिंहको २०५४ असोज २ गते निधन भएको थियो ।