काठमाडौँ महानगरले १६ दिने अभियान अन्तर्गत कुनै पनि कार्यक्रम नगर्ने

१०, मंसिर काठमाडौं । काठमाडौँ महानगरपालिकाले यस वर्षको लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत कुनै पनि कार्यक्रम र गतिविधि नगर्ने भएको छ ।

राज्यले कुनै सहयोग नगर्ने र १६ दिनसम्म मात्र अभियान चलाउँदै उपलब्धि नहुने भन्दै यस वर्ष लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत कुनै पनि कार्यक्रम नगर्ने महानगरपालिकाले जनाएको छ । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु भएको छ ।

१० डिसेम्बरसम्म विश्वभर चल्ने यो अभियान नेपालमा ‘हामी सबैको प्रतिबद्धता, लैंगिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता’ भन्ने नाराका साथ सुरु भएको छ । तर महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले १६ दिन मात्र अभियान चलाउनु देखावटी हुने टिप्पणी गरेका छन् ।

प्रवक्ता मानन्धरले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेका लैंगिक हिंसाविरुद्धका कार्यक्रममा राज्यका अन्य सम्बद्ध निकाय र पदाधिकारीहरूबाट अपेक्षित सहयोग प्राप्त हुन नसकेको पृष्ठभूमिमा देखावटी रूपले कृत्रिमता प्रदान गर्ने गरी १६ दिनलाई मात्र लैंगिक हिंसा विरुद्धको अभियानका नाममा कार्यक्रम सञ्चालन गर्नु नाटकीय हुने र नैतिकताका आधारमा समेत जायज मान्न सक्ने भएकाले यस वर्षको उक्त अभियान अन्तर्गत कुनै पनि कार्यक्रम तथा गतिविधिहरू काठमाडौं महानगरपालिकाद्वारा सञ्चालन नगरिने।’तर लैंगिक हिंसाविरुद्धका वार्षिक कार्यक्रमहरू भने निरन्तर सञ्चालन गरिने विज्ञप्तिमा उल्लेख छ ।

यस अभियान अन्तर्गत काठमाडौँ महानगरपालिकाले वर्षभर लैंगिक हिंसा विरुद्धमा कार्य गर्ने गरी आवश्यक नीति, कानुन, कार्यक्रम र बजेट तर्जुमा गरी सञ्चालन गर्दै आइरहेको जनाएको छ । काठमाडौं महानगरमा ‘बालापनको रक्षा, भविष्यको सुरक्षा’ कार्यक्रम सञ्चालनमा छ ।