सुस्मा कोइराला अस्पताललाई जलन उपचार केन्द्रमा विकास गरिने

१४, मंसिर काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सुस्मा कोइराला मेमोरियल अस्पताललाई जलन अस्पतालको रूपमा विकास गरिन लागेको जानकारी दिएका छन् ।

काठमाडौँको शङ्खरापुर नगरपालिकास्थित साँखुमा रहेको अस्पतालका संस्थापक देशीय निर्देशक हाइन स्टालको बिदाइ तथा नयाँ देशीय निर्देशक अल्बर्ट बेन्जिनको स्वागतमा बिहीबार आयोजित कार्यक्रममा मन्त्री पौडेलले सरकारले पछिल्लो समय जलन उपचारलाई प्राथमिकता दिएर काम गरिरहेको बताए ।

उनले भने, “सुस्मा कोइराला मेमोरियल अस्पताल जलन उपचारका लागि एक विशिष्टीकृत अस्पताल हो, सरकारले भर्खरै देशभरका आठ अस्पताललाई जलन उपचार गर्न सकिने अस्पतालका रूपमा घोषणा गरेको छ, यसमा सुस्मा कोइराला अस्पताललाई समेत थप गरेर अगाडि बढ्न सकिन्छ । ”

स्वास्थ्यमन्त्री पौडेलले जर्मनको सहयोगमा सुस्मा कोइराला मेमोरियल ट्रष्टद्धारा सञ्चालित उक्त अस्पतालले अन्य अस्पतालमा कार्यरत चिकित्सक तथा नर्सलाई जलन उपचारसम्बन्धी तालिम प्रदान गर्न सक्ने बताए । जलन उपचारको नेतृत्व सुस्मा कोइराला अस्पतालले गर्न सक्ने उनको भनाइ थियो ।

कार्यक्रममा पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले सुरुको समयमा दुर्गम क्षेत्रमा अस्पताल खोल्नका लागि निकै समस्या झेल्नुपरेको बताइन्। सुरुको बेलामा देशभर नै जलनको उपचार नहुँदा उक्त अस्पताल स्थापना गरिएको उनको भनाइ थियो ।