
२४, मंसिर, झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले देशका लागि थप केही गर्ने बताएका छन् । झापाको दमक नगरपालिका– ३, स्थित बेलडाँगी खानेपानी आयोजनाको उद्घाटनपछि सम्बोधन गर्ने क्रममा उनले विकास निर्माणका काममा एक हुनुपर्ने बताए ।
उनले झापाका जनताकै भोटबाट फेरि प्रधानमन्त्री भएको भन्दै विश्वमा झापावासीको नाम राख्नेमा ढुक्क रहन पनि आग्रह गरे ।‘तपाईंहरूको प्रतिनिधि म फेरि प्रधानमन्त्री भएको छु, म देशका लागि थप केही गर्छु,’ प्रधानमन्त्री ओलीले भने, ‘तपाईंहरूको पनि नाम विश्वमा राख्छु यसमा ढुक्क हुन म आग्रह गर्छु ।’
साथै, उनले बाँदरलेजस्तो आफ्नो र अर्काको घर पनि भत्काउने गरेर देश नबन्ने दाबी गरे ।‘देश बनाउन हामी सबै एकताबद्ध हुनुपर्छ । हामीले बाँदरले जस्तो आफ्नो घर पनि नबनाउने र अरुको घर पनि भत्काउने गरेर देश बन्दैन,’ प्रधानमन्त्री ओलीको भनाइ थियो ।
