मानव अधिकार रक्षाका लागि सरकार निष्ठापूर्वक लागेको छ : अर्थमन्त्री पौडेल

२५, मंसिर ललितपुर । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मानव अधिकार रक्षाका लागि सरकार निष्ठापूर्वक लागेको बताएका छन् ।

छयत्तरौँ मानव अधिकार दिवसका अवसरमा राष्ट्रिय मानव अधिकार आयोगद्वारा आज आयोजित कार्यक्रममा उनले मानव अधिकार आयोगको भूमिकालाई अझ प्रभावकारी बनाउन सरकार क्रियाशील रहेको बताए । “राज्य र राजनीतिक शक्तिहरू मानवअधिकार रक्षा गर्न प्रतिबद्ध छन् ।

सर्वोच्च अदालतका फैसला कार्यान्वयन र सङ्क्रमणकालीन न्यायलाई पीडितमैत्री बनाउनेमा सरकारले ध्यान दिएको छ । आयोगलाई स्वायत्त र सशक्त बनाउन सरकार तत्पर छ,” उपप्रधानमन्त्री पौडेलले भने । उनले मानव अधिकारको रक्षा र आयोगको कार्य सञ्चालनका लागि भौतिक एवं आर्थिक स्रोत सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताए ।

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानवअधिकारमैत्री हुन नसकेका कानुन संशोधन हुनुपर्नेमा जोड दिए । उनले वैदेशिक रोजगारीमा गएकाहरूको मानवअधिकार रक्षा संवेदनशील विषय भएकाले त्यसतर्फ सम्बद्ध सबै पक्ष गम्भीर हुनुपर्नेमा जोड दिए ।