सकियो सम्झौता अवधि, सकिएन करिडोरको काम

२,पुस बागलुङ । कालीगण्डकी करिडोरको बलेवा(मालढुङ्गा खण्ड कालोपत्रका लागि गरिएको सम्झौता अवधिसकिएपछि मात्रै कामले गति लिएको छ । राष्ट्रिय गौरवको आयोजनाका कालीगण्डकी करिडोरको बलेवा(मालढुङ्गा खण्डको सम्झौता सकिएसँगै कामले तीव्रता पाउन थालेको हो ।

अहिले नाली, कल्भर्ट, पर्खाल तथा ग्याबिन लगाउने काम भइरहेको छ । कालोपत्रका लागि विडारी कन्ट्रक्सनसँग गरिएको सम्झौता सकिए पनि काम भने करिब ६० प्रतिशत सम्पन्न भएको आयोजना कार्यालयले जनाएको छ ।

म्याद सकिएसँगै १० किमी सडक निर्माणले तीव्रता पाएको हो । निर्माण कम्पनीलाई पटकपटक ताकेदा गरेपछि अहिले मालढुङ्गातर्फको खण्डमा धमाधम पूर्वाधारको काम भइरहेको आयोजना कार्यालय पाल्पाका सूचना अधिकारी अरुण खत्रीले बताए । उनका अनुसार दुई वर्षमा सक्नेगरी सम्झौता भए पनि हालसम्म ६० प्रतिशत मात्रै पूर्वाधारको काम सकिएको हो ।