नेपालले भारतबाट अतिरिक्त हवाई रुट चाहेको छ : परराष्ट्र मन्त्री राणा

५,पुस काठमाडौं । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले नेपालले भारततर्फबाट अतिरिक्त हवाई रुट चाहेको बताएकी छन्।

भारतको नयाँ दिल्लीमा शुक्रबार आयोजित भारत नेपाल आर्थिक सम्मेलन (इन्डो नेपाल इकोनोमिक कन्फ्रेन्स) लाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै मन्त्री राणाले नेपालले भारतबाट थप हवाई रुटको अपेक्षा गरिरहेको जानकारी गराएकी हुन्। उनले भनिन्, ‘हामीले नेपालका पोखरा र लुम्बिनीमा दुई अन्तर्राष्ट्रिय विमानस्थल बनाएका छौँ।

ती दुवै संसारकै लोकप्रिय सहर हुन्। पोखरा पर्यटन नगरी हो भने लुम्बिनी भगवान् गौतम बुद्धको जन्मस्थल हो। ती विमानस्थलबाट हामीले पर्यटन मात्र नभएर समग्र सम्पर्क विस्तार पनि गर्न चाहन्छौँ। त्यसैले नेपाल यी दुई विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनका लागि पनि थप हवाई रुट चाहेको छ।’