
६, पुस काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली युद्ध र अशान्तिबाट त्रस्त विश्वलाई शान्तिमय बनाउन योग र ध्यानलाई जीवन पद्धतिका रूपमा अपनाउनुपर्ने बताएका छन् ।
विश्व ध्यान दिवस, २०८१ का अवसरमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज सैनिक मञ्च–टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हतियारको बदला हतियारकै प्रयोगबाट विश्वमा शान्ति कायम नहुने भएकाले सकारात्मक चिन्तनका साथ ध्यान र योगलाई अपनाउन आग्रह गरेका हुन् ।
प्रधानमन्त्री ओलीले सभ्य संस्कृति र सकारात्मक चिन्तनका साथ शारीरिक र मानसिक ध्यानलाई नियमितरुपमा गर्नुपर्ने र यस प्रकारको ज्ञानलाई विद्यालय र नयाँ पुस्तासम्म हस्तान्तरण गर्नुपर्ने बताए। ध्यान प्राकृतिक ढंगले सचेत मानव जातिले प्रयोग गरेको र सभ्यताको मुहान भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले मुलुकलाई निरोगी नेपाल बनाउने सरकारको सङ्कल्प पूरा गर्न पनि ध्यान र योगलाई नियमितता दिन आवश्यक भएको बताए।
