चिसोले सोलुखुम्बुको जनजीवन प्रभावित, पाइपमै जम्न थाल्यो पानी

१४, पुस सोलुखुम्बु । अत्यधिक चिसो बढेसँगै हिमाली जिल्ला सोलुखुम्बुको जनजीवन कष्टकर बन्दै गएको छ । सदरमुकाम सल्लेरीमा तापक्रम माइनसमा झरेसँगै नागरिकहरूको दैनिकी प्रभावित बनेको हो । सल्लेरीमा शनिबार बिहानको तापक्रम माइनस एक डिग्री सेल्सियस मापन गरिएको हावापानी मापन केन्द्रले जनाएको छ ।

मापन केन्द्रका कर्मचारी नवराज पराजुलीका अनुसार सल्लेरीको तापक्रम केही दिनयता माइनसमा गएको हो । चिसो बढेसँगै सल्लेरी क्षेत्रमा मानिस आगो तापेर बस्न थालेको स्थानीय निरकुमार नेपालीले बताइन् । उनले भनिन्, “चिसोले घरभित्र बस्न सक्ने अवस्था छैन, त्यही भएर बिहान बेलुका सबै एक ठाउँमा भेला भएर आगो ताप्छौँ ।”पछिल्लो तीन दिनयता यहाँ घाम लागेको छैन । चिसोले बालबालिका, वृद्ध वृद्धा तथा अशक्तलाई बढी मार परेको छ । “बालबालिकाको पठनपाठन प्रभावित भएको छ भने वृद्ध वृद्धालाई पनि समस्या बढेको छ”, उनले भनिन् ।

चिसो बढेसँगै जिल्ला अस्पताल फाप्लुमा बिरामीको चाप उच्च भएको अस्पतालले जनाएको छ । पछिल्लो एक सातायता अस्पतालका सबै शय्या श्वासप्रश्वास र नसासम्बन्धी रोगका बिरामीले भरिभराउ बनेको अस्पताल प्रमुख डा। प्रशान्त शाहले बताए । उनले भने, “चिसोका कारण बिरामी धेरै वृद्धि भएको छ, आकस्मिक कक्ष त्यत्तिकै भरिभराउ छ भने शय्यासमेत खाली छैन, केही दिनअघि पनि शय्या अभावमा भुईँमा राखेर पनि बिरामीको उपचार गरिरहेका छौँ ।”

चिसोको असर हिमाली क्षेत्र खुम्बुमा झनै बढी देखिएको स्थानीयले बताएका छन् । खुम्बुमा पछिल्लो समय न्यूनतम तापक्रम माइनस १५ डिग्री सेल्सियसभन्दा तल पुगेको छ । चिसोका कारण विद्यालय बन्द भएको लुक्लाका तोयाकुमार श्रेष्ठले बताए । अधिकांश विद्यालय बन्द भएपछि बालबालिका आगो तापेर समय कटाउनु यहाँका नागरिकको बाध्यता भएको पिके माध्यमिक विद्यालय लोदिङका शिक्षक ल्हाक्पा शेर्पाले जानकारी दिए ।