विकास निर्माणको काम प्रकृतिमैत्री ढङ्गले गरौं : उपप्रधानमन्त्री सिंह

१४, पुस, काठमाडौं । उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले जलवायु परिवर्तनको असरबाट नेपाल प्रभावित भएको भन्दै अब प्रकृतिमैत्री ढङ्गले विकास निर्माणको काम गर्नुपर्ने बताएका छन् ।

आइतबार सोलु दूधकुण्ड नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास गदैं उपप्रधानमन्त्री सिंहले जथाभावी विकास निर्माण गर्न नहुने बताउँदै प्रकृतिमैत्री हुने गरी प्रविधिको प्रयोग गरेर विकास निर्माणको काम गर्नुपर्नेमा जोड दिए ।

‘‘विकास निर्माणको काम त गर्नुपर्छ । तर विकास निर्माण प्रकृतिमैत्री हुनुपर्छ भन्ने हामीलाई घटनाक्रमले सिकाएको छ । अब त्यही अनुसार विकास निर्माणको काम गर्नुपर्छ,’’ उनले भने ‘‘घर बनाउँदा, प्रशासनिक भवन बनाउँदा होस् वा विकास निर्माणको अरू काम गर्दा अब समय बमोजिम हामी चल्नैपर्छ ।

गाउँठाउँलाई जोगाउने हो भने वातावरणलाई हामीले ध्यान दिनैपर्छ ।’’ उनले प्रशासकीय भवन निर्माण भएपछि पालिकाको सेवाप्रवाह प्रभावकारी हुने र नागरिकले सहज रूपमा सेवा पाउने विश्वास व्यक्त गरे ।