आज ६ वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

१९, पुस काठमाडौँ । आज एकै पटक ६ वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत बिहान ११ बजे अर्थ समितिको बैठक बस्दै छ । बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा सरोकारवालासँग छलफल हुनेछ ।

त्यस्तै बिहान ११ बजे नै बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपाल वायुसेवा निगमको विमान सञ्चालन व्यवस्थापन तथा सेवा सञ्चालनका सम्बन्धमा छलफल र नेपाल पर्यटन बोर्डको कार्यसम्पादन स्थितिबारे छलफल हुनेछ ।

त्यस्तै बिहान ११ बजे नै बस्ने कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठकमा नेपालमा जलवायु परिवर्तनबाट पुग्न गएको असर र यसको न्यूनीकरण गर्ने सम्बन्धमा नेपालबाट भएका प्रयासहरू तथा कोप–२९ लगायतका अन्तर्राष्ट्रिय स्तरका फोरमहरूमा नेपालको सहभागिताको अवस्था, यसमा भएका सबल तथा कमजोर पक्षहरू र आगामी दिनहरूमा यस प्रकारका सम्मेलनमा सक्रिय तथा प्रभावकारी सहभागितालाई उपलब्धिमूलक बनाउने सम्बन्धमा गर्नुपर्ने पूर्वतयारीका सम्बन्धमा वन तथा वातावरण मन्त्रालयसँग छलफल हुनेछ ।

बिहान साढे ११ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा छलफल हुनेछ ।