
२, माघ खजुरा । पश्चिम तराईमा चिसो बढेपछि यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ । बाँकेको नेपालगञ्ज, कोहलपुर, खजुरा, नरैनापुरलगायत क्षेत्रमा चिसोले जनजीवन कष्टकर बनेको हो । ती क्षेत्रमा बिहानैदेखि शीतलहर, बाक्लो हुस्सुले गर्दा जिल्लामा चिसो बढेको छ ।
‘चिसोले बजार तथा सहरी क्षेत्रमा चहलपहल घटेको छभने सडकमा सवारीसाधन कम चलेका छन् । नेपालगञ्जमा बिहान करिब दुई घण्टासम्म शीतलहर चल्ने गरेको छ । बिहानैदेखि हुस्सुले अत्यधिक चिसो भएको छ’, नेपालगञ्जका स्थानीय रामसुहावन यादवले भने, ‘चिसोले गर्दा घरभन्दा बाहिर निस्कन सकिएको छैन, यहाँका मान्छे अत्यावश्यक कामबाहेक अरू अवस्थामा बाहिर निस्केका छैनन्।’
चिसोले ज्यालादारी काम गर्ने बढी मारमा परेका छन् । उनीहरू काममा जान नपाएको बाँके डुडुवा गाउँपलिका–४ का मजदुर रामदिन गोडियाले भने, ‘काम नगर्दा परिवार चलाउन मुस्किल पर्छ, केही दिन यस्तै चिसो रह्यो भने समस्या हुने देखिन्छ।’
