
८, माघ काठमाडौं । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा देवी मन्दिरसम्म पुग्ने ‘पाथीभरा देवी मुकुम्लुङ दर्शन केबुलकार’ परियोजना निर्माण मंगलबारदेखि सुरु भएको छ ।
हिमालय कन्स्ट्रक्सनका प्रमुख इन्द्र केदेमले बटम स्टेसनबाट केबुलकार निर्माण कार्य सुरु भएको जानकारी दिए । जिल्लाका सबै राजनीतिक दल, सांसद्, स्थानीय जनप्रतिनिधि तथा स्थानीयवासी, सरकारी निकाय सहित सुरक्षा निकाय समेतको सहयोग र समन्वयमा काम अघि बढेकाले निर्माणको अबको चरण द्रुत गतिमा अघि बढ्ने केदेमले बताए ।
केबुलकार कम्पनी सञ्चालक रुद्र पौडेलले पाथीभरा केबुलकार निर्माण भई सञ्चालनमा आउँदा ताप्लेजुङ जिल्लाको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा टेवा पुग्ने र समग्र कोशी प्रदेशकै आर्थिक समृद्धिको कोशेढुंगा बन्ने बताए । केबुलकार निर्माण कार्य द्रुत गतिमा अगाडि बढाइने उनको भनाइ छ ।
पौडेलका अनुसार आगामी १५ महिनाभित्र केबुलकार चढेर पाथीभरा देवी दर्शन गर्न सकिने छ । केबुलकारले अशक्त वृद्धवृद्धा तथा बालबालिका लगायत भक्तजनलाई समेत पाथीभरा देवीको दर्शन गर्न सहज हुनेछ । पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना, वातावरणीय सन्तुलन र आर्थिक तथा सामाजिक विकासका लागि पाथीभरा केबुलकार उदाहरण बन्ने विश्वास छ ।
