
११ माघ,काठमाडौं राष्ट्रिय गौरवका आयोजना मध्येको एक आयोजनाका रुपमा रहेको सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङको ‘ब्रेक थ्रु’ भएको छ ।
सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि १ किलोमिटर १ सय २६ मिटर सुरुङमार्गको आज प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट भर्चुअलरूपमा‘ब्रेक थ्रु’ गरेपछि यो देशकै खुसी भएको बताए ।
स्वास्थ्य प्रतिकूलताका कारण भर्चुअलरूपमा उपस्थित भएर गरिएको सो ब्रेक थ्रु पश्चात कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान सरकार मुलुकमा विकास र सुशासन कायम गर्न तल्लीन रहेको पनि जिकिर गरे।साथै उनले पहिरोले गाडी दुर्घटना हुने र जनधनको क्षति हुने पीडाबाट त्यसमार्गका यात्रीहरुलाई राहत दिन यो सुरुङमार्ग एक सफल आयोजना साबित हुने बताए।
‘सुरुङमार्ग ब्रेक थ्रु हुनु सिङ्गै देशको खुसीको कुरा हो।अब नेपाल हिजो झैँ दुर्गम भन्ने रहेन।हामीले यसलाई अझ सुगम बनाउनुछ’, प्रधानमन्त्री ओलीले भने, ‘मुलुकमा शीघ्र विकास र सुशासन दिन अहिलेको सरकार तल्लीन छ। हामी अरुको पनि सहयोग लिन्छौ र हामी बनाउँछौँ हाम्रो देश।देशलाई फाइदा हुने कुराहरुमा सरकारको ध्यान जानेछ । हाम्रा प्रयासहरु यसैतर्फ केन्द्रित छन्।’उनले भने।
