
१४, माघ काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले भूकम्पका कारण हुने जनधनको क्षति कम गर्न राष्ट्रिय भवन संहिता पालना गर्नु अपरिहार्य रहेको बताएका छन् ।
सोमबार काठमाडौंमा २७ औँ भूकम्प सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । नेपाल बाढी, पहिरो, महामारी, आगलागी, भूकम्प लगायतका कयौँ प्रकोपहरूबाट बारम्बार प्रभावित हुने गरेको उनले बताए ।
‘हाम्रो मुलुक बाढी, पहिरो, महामारी, आगलागी, भूकम्प लगायतका कयौँ प्रकोपहरूबाट बारम्बार प्रभावित हुने गरेको छ । पछिल्लो समय हामी लगातार विभिन्न खालका विपद्जन्य घटनाबाट प्रभावित हुँदै आएका छौँ,’ उनले भने, ‘भूकम्पका कारण हुने जनधनको क्षति कम गर्ने राष्ट्रिय भवन संहिता पालना गर्नु अपरिहार्य छ ।
बाढी, पहिरो, महामारी, आगलागी, चट्याङ, शितलहर लगायतका विपद्का घटनाहरूबाट सुरक्षित हुन त्यसैअनुसार पूर्व तयारी तथा खोज उद्धार अवस्थामा सुधार गर्नु आवश्यक छ ।’ इतिहासबाट पाठ सिक्दै अब बन्ने घर संरचनाहरू भूकम्प प्रतिरोधी बनाउनु अहिलेको आवश्यकता रहेको उपप्रधानमन्त्री सिंहको भनाइ थियो ।
