स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक माग,कुनै राजनीतिक दलको सदस्य नभएको हुनुपर्ने

२५ माघ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकको नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ।बिहीबार सार्वजानिक सूचना जारी गर्दै कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान गरिएको मन्त्रालले जनाएको छ ।

तत्कालीन निर्देशक डा. दामोदर बसौलाको चार वर्षे कार्यकाल गत २५ भदौमा सकिएको थियो ।त्यसयता बोर्ड निमित्तको भरमा सञ्चालन भइरहेको छ ।

बोर्डको कार्यकारी निर्देशक पद खुल्ला प्रतिस्पर्धाबाट छनोट गरिने प्रावधान छ । बोर्डको कार्यकारी निर्देशकको लागि सिफारिस गर्न गठित सिफारिस समितिले सूचना जारी गर्दै दश दिनभित्र मन्त्रालयमा दरखास्त पेश गर्न भनेको छ।

यसका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र,व्यवस्थापन,कानून,चिकित्साशास्त्र, जनस्वास्थ्य वा स्वास्थ्य अर्थशास्त्रसम्बन्धी बिषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तीमा दश वर्षको अनुभव प्राप्त गरेको व्यक्तिले दरखास्त दिन सक्ने उल्लेख गरिएको छ।

नेपाली नागरिक हुनुपर्ने,दरखास्त दिने अन्तिम मितिसम्म पैसट्ठी बर्ष उमेर ननाघेको, भ्रष्ट्राचार, जवरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार,लागुऔषध बिक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ती शुद्धीकरण, राहदानी दुरुपयोग,अपहरण सम्बन्धी कसुर वा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा सजाय नपाएको योग्यता हुनुपर्ने प्रावधान तोकिएको छ।

दरखास्त साथ नेपाली नागरिकताको प्रमाणपत्रको स्वयम् प्रमाणित छायाप्रति,शैक्षिक योग्यतासम्बन्धी स्वयम् प्रमाणित कागजात,सम्बन्धित क्षेत्रमा एक वर्षभन्दा बढी अवधि काम गरेको अनुभव स्पष्ट खुल्ने संस्थागत प्रमाणित कागजातहरू,उम्मेदवारले देहायका विषयमा स्वयम् घोषणा गरेको कागजात पेस गर्नुपर्ने उल्लेख छ।

नियुक्ति हुँदाका बखत कुनै राजनीतिक दलको सदस्य नभएको, बोर्डसँग कुनै किसिमको स्वार्थ नभएको हुनुपर्नेछ ।
दरखास्त फाराम स्वास्थ्य मन्त्रालयको वेवसाइट www.mohp.gov.np बाट डाउनलोड गर्न सकिने  छ ।