
१८ फागुन, काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा प्रदर्शनकारी र प्रहरीबिच झडप भएको छ । झडपमा परेर प्रहरी वृत्त सिंहदरबारका डीएसपी गंगा पौडेल घाइते भएका छन् ।भने १२ जना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिको प्रदर्शनका क्रममा भएको झडपमा डीएसपी पौडेल घाइते भएको जानकारी दिए ।
उनका अनुसार डीएसपी पौडेलको टाउकोमा चोट लागेको छ । अहिले उनको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ ।
२०८० चैत ७ गते भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग भएको दुई बुँदे सहमति कार्यान्वयन नभएपछि स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समिति विरोधमा उत्रिएका हुन्। उनीहरूले दुई बुँदे सहमति कार्यान्वयन हुनुपर्ने प्रमुख माग राखेका छन्।
