
१८, फागुन सुर्खेत । नेपाली काँग्रेसका नेता तथा उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले पार्टीको महाधिवेशनको तयारी तीव्र रूपमा भइरहेको बताएका छन्।
आइतबार सुर्खेत विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले पार्टीभित्र आन्तरिक छलफल चलिरहेको र विधानअनुसार महाधिवेशन सम्पन्न गरिने बताएका हुन्।
पार्टीको आन्तरिक संरचना मजबुत बनाउन आवश्यक रहेको उल्लेख गर्दै मन्त्री सिंहले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि हामीले राजनीतिक स्थायित्वका लागि विभिन्न चुनौती सामना गरिरहेका छौँ । अहिले सरकारको काम मूल्यांकन गर्ने प्रक्रिया अघि बढिरहेको छ, जसमा मन्त्रालयहरूले कत्तिको प्रभावकारी रूपमा काम गरेका छन् भन्ने अध्ययन भइरहेको छ।’
उनले हालै सरकारले सार्वजनिक गरेको बजेट अनुसारका विकास योजनाहरूलाई तीव्र गतिमा कार्यान्वयन गरिनुपर्ने बताए । ‘काम चमत्कारिक र द्रुत रूपमा सम्पन्न गर्नुपर्छ भन्ने हाम्रो सोच हो । परिस्थिति हेर्दा सेवा प्रवाह सहज बनाउन अध्यादेश ल्याउनु आवश्यक भएको हो,’ उनले थपे।
कर्णालीका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाह, कर्णालीका अर्थमन्त्री राजीवविक्रम शाहीलगायतका उल्लेख्य नेता कार्यकर्ता स्वागतका लागि विमानस्थल पुगेका थिए । पार्टीभित्रको भावी सभापतिका दाबेदारहरूको बारेमा अहिले विभिन्न अड्कलबाजी भइरहेका बेला सिंहले आफू कुनै पनि हालतमा पछाडि नहट्ने संकेत गरेका छन्। सिंहसहित संस्थापन पक्षका ११ जनाले सभापति देउवालाई भेटेर उत्तराधिकारी को भनेर प्रश्न गरेका थिए ।
