
२, चैत टेक्सस । अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ।
टेक्सास राज्य संसद्को प्रतिनिधिसभाको १३ मार्च बिहीबार सम्पन्न बैठकले ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ को मान्यता दिने संकल्प प्रस्ताव ५३० पारित गर्दै यो घोषणा गरेको हो । सङ्कल्प प्रस्ताव पारित भएपछि टेक्सस राज्य संसदमा ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ ले औपचारिक मान्यता पाएको छ।
‘नेपाली लुम्बिनी एड्भोकेसी डे’सम्बन्धी प्रस्ताव पाकिस्तानीमूलका टेक्ससका राज्य सांसद सुलेमान लालानीले संसद् बैठकमा पेश गरेका थिए । प्रस्ताव संसद् बैठकबाट पारित हुँदा अमेरिका भ्रमणमा रहेका नेपालको लुम्बिनी सर्किटअन्तर्गत पर्ने पाँच वटा नगरपालिकाका मेयर पनि उपस्थित थिए ।
प्रस्तावमा लुम्बिनीलाई बौद्धधर्मका लागि अत्यन्त पवित्रस्थल भएको भन्दै सिद्धार्थ गौतमको जन्मस्थलको रूपमा मान्यता प्राप्त रहेकोमा विशेष जोड दिइएको छ । यो क्षेत्रलाई संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन ९युनेस्को० को विश्व सम्पदा सूचीमा सूचीकृत गरिएको तथा बौद्ध धर्मावलम्बीको प्रमुख आध्यात्मिक गन्तव्य रहेको उल्लेख गरिएको छ ।
टेक्सासको ८९ औँ संसद्को प्रतिनिधिसभाले मार्च १३, २०२५ लाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ को रूपमा औपचारिक मान्यता दिएको र लुम्बिनीको प्रचार प्रसारको लागि भ्रमण गर्ने नेपाली मेयरहरूको प्रतिनिधिमण्डललाई हार्दिक स्वागत गर्ने समेत सङ्कल्प प्रस्तावमा उल्लेख गरिएको छ ।
