उपत्यकाको सुरक्षा व्यवस्था बलियो

१५, चैत काठमाडौं । काठमाडौँ उपत्यकामा शुक्रबार दुई वटा छुट्टाछुट्टै समूहले आयोजना गर्न लागेको विरोध प्रदर्शनलाई मध्यनजर गरी सुरक्षा व्यवस्था बलियो पारिएको छ ।

गणतन्त्र पक्षधर र विरोधी राजावादी समूहको प्रदर्शन शान्तिपूर्ण बनाउन स्थानीय प्रशासनले दुई छुट्टाछुट्टै स्थान तोकी सही अनुसारको सुरक्षा व्यवस्थापन मिलाएको जनाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले गणतन्त्र पक्षधरलाई प्रदर्शनीमार्ग–भृकुटीमण्डप र राजतन्त्र पक्षधर समूहलाई तीनकुनेमा विरोध सभा गर्न अनुमति दिएको छ । दुई प्रदर्शनको सुरक्षा मजबुत बनाउन जिल्ला प्रशासन कार्यालय काठमाडौँ, ललितपुर र भक्तपुरले संयुक्त सुरक्षा संयन्त्र तयार पारी आवश्यक सुरक्षा सतर्कतासहितको तयारी गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए ।

तिवारीले भने “दुई फरक समूहको प्रदर्शन शान्तिपूर्ण बनाउन आवश्यक सुरक्षाकर्मी परिचालन गरी कार्यक्रम स्थल, र्‍यालीका लागि प्रयोग गरिने रुट फरक पारी सभास्थलको सुरक्षा व्यवस्था चुस्त पारिएको छ ।” उनले सुरक्षा व्यवस्थालाई मध्यनजर गरी दुवै समूहबिच छुट्टाछुट्टै छलफल र समन्वय भइरहेको र दुवै पक्षको प्रदर्शन शान्तिपूर्ण हुने प्रतिबद्धता व्यक्त गरेको पनि जानकारी दिए ।

समाजवादी मोर्चामा आबद्ध नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र नेकपा विप्लव समूहले गणतन्त्रका पक्षमा प्रदर्शन गर्दै छन् । त्यस्तै राजतन्त्रसहितको हिन्दुराज्यको माग राखी राप्रपासहित विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ नामबाट प्रदर्शनको तयारी गरिएको छ ।