
२२, चैत बैंकक । प्रधानमन्त्री केपी शर्मा ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौँ शिखर सम्मेलनलाई आज सम्बोधन गर्दै छन् । उनीसहित सदस्य मुलुकका सरकार प्रमुखहरूले सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
शिखर सम्मेलनको पहिलो कार्यसूचीमा ‘बिम्स्टेक म्यारिटाइम ट्रान्सपोर्ट कोअपरेसन’मा हस्ताक्षर गर्ने रहेको छ । आयोजक राष्ट्र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्ले स्वागत सम्बोधन गरेपछि कायसूचीहरु प्रस्तुत गरिनेछन् । तत्पश्चात् बंगलादेश, भुटान, भारत, म्यानमार, नेपाल र श्रीलंकाका प्रधानमन्त्री प्रतिनिधिमण्डलका नेता हरुबाट सम्बोधन हुनेछ । सम्बोधनपछि कार्यसूचीहरू पारित हुनेछन् भने आयोजक मुलुकका प्रधानमन्त्री शिनावात्ले पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ ।
सम्मेलनमा दिवाभोजपछि स्थानीय समयअनुसार अपराह्न ४ बजे प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच दुईपक्षीय भेटवार्ता हुनेछ । यी सबै कार्यक्रमहरू बैंककस्थित होटेल साड्ग्रिलामा हुनेछन् । थाइल्याण्डको पहिलो औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री ओली बिम्स्टेक शिखर सम्मेलनमा सहभागी भएका हुन् ।
