
२२, चैत काठमाडौं । काठमाडौँ उपत्यकाको वायु प्रदूषण अझै खतरनाक तहमा रहेको छ । ताजा तथ्यांकअनुसार अप्रिल ४ तारिख बिहान ९:३२ बजेको एयर क्वालिटी इन्डेक्स’ (एक्यूआई) मापनमा काठमाडौँ विश्वकै दोस्रो प्रदूषित सहरको रूपमा देखिएको छ । भारतको राजधानी दिल्ली पहिलो स्थानमा उक्लिएको छ भने चीनको बेइजिङ तेस्रो स्थानमा छ ।
आईक्यूएयरको विश्व एक्यूआई र्याङ्किङअनुसार दिल्लीको एक्यूआई ३०९ पुगेको छ भने काठमाडौँको एक्यूआई २५० छ । बेइजिङको एक्यूआई १६१ रहेको छ । यसअघि शुक्रबार काठमाडौँ पहिलो स्थानमा रहेकोमा अब दिल्लीले उछिनेको छ ।
यद्यपि, काठमाडौँको २५० एक्यूआई अझै पनि ‘अति अस्वस्थ’ को श्रेणीमा पर्छ। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को मापदण्डअनुसार एक्यूआई ३५ भन्दा कम हुनुपर्नेमा ५० सम्मलाई सामान्य मानिन्छ। तर, २०१ देखि ३०० सम्मको एक्यूआई ‘अति अस्वस्थ’ र ३०१ देखि ४०० सम्म ‘खतरनाक’ मानिन्छ ।
