
२२, चैत काठमाडौं । गृहमन्त्री रमेश लेखकले चैत १५ गते काठमाडौंको तीनकुनेमा पूर्वराजाको समर्थनमा भएको प्रदर्शन संविधान समाप्त पार्ने उद्देश्यले गरिएको बताएका छन् । शुक्रबार सिंहदरबारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रदर्शनबारे जानकारी दिदैँ उनले यस्तो बताएका हुन् ।
गृहमन्त्री लेखकले तीनकुनेमा भएको प्रदर्शनमा संविधान उल्ट्याउने र व्यवस्था मास्ने उद्देश्यले अमर्यादित र हिंसात्मक क्रियाकलापहरु भएको जिकिर गरे । उनले राजावादी समूहले शान्तिपूर्ण आन्दोलन गर्ने अनुमति लिएर निजी सम्पत्ति तोडफोड, आगजनीमा उत्रिएको बताए ।
‘‘तीनकुनेमा भएको प्रदर्शन तथा कार्यक्रम नेपालको वर्तमान संविधानलाई उल्ट्याउने, सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशी चरित्रको हामीले अवलम्वन गरेको राज्य व्यवस्था र प्रबन्धलाई समाप्त गर्ने उद्देश्यबाट प्रेरित थियो ।,’’ उनले भने, ‘‘यदि यो शान्तिपूर्ण रुपमा आफ्ना धारणाहरु राख्ने, सरकारलाई खबरदारी गर्ने, आफ्नो विचारहरु अभिव्यक्त गर्ने र सरकारको ध्यानाकर्षण गर्ने उेद्दश्यले मात्र प्रेरित थियो भन्ने भ्रममा हामी प¥यौं भने ठिक हुँदैन ।
यसको मुख्य उद्देश्य नै संविधान समाप्त गर्ने थियो । यसको मुख्य उद्देश्य नै लाकतान्त्रिक गणतन्त्रलाई समाप्त गर्ने र संविधानलाई उल्ट्याउने थियो । यसका बारेमा दुविधा छैन र रहनु हुँदैन ।’’
उनले पूर्वराजा ज्ञानेन्द्र शाहले सार्वजनिक गरेको अभिव्यक्ति, फागुन २५ को प्रदर्शन तथा राजावादी नेताहरुले दिएको अभिव्यक्ति केलाएर हेर्दा संविधान र व्यवस्था उल्ट्याउने उद्देश्य नलुकेको बताए ।
