
२३, चैत काठमाडौं । काठमाडौँ महानगरपालिकाले बालाजु औद्योगिक क्षेत्र प्रवेश मूलद्वारसँगै एक लाख लिटर पानी भण्डारण क्षमताको जुद्ध वारुणयन्त्र शाखा कार्यालय भवन सञ्चालनमा ल्याइएको छ ।
उक्त भवनको भूइँतलामा ८० हजार लिटर र छतमा २० हजार लिटर गरी एक लाख लिटर पानी भण्डारण क्षमताको भवन यही चैतदेखि सञ्चालनमा रहेको कामपा विपद् व्यवस्थापन विभागका प्रमुख जगदीश अर्यालले जानकारी दिए ।
प्रमुख अर्यालका अनुसार २०८० पुस १८ गते शिलान्यास भवन निर्माणको अवधि २०८१ फागुन मसान्तसम्म थियो । वि।सं २०७९ मङ्सिर २६ गते २८ औँ महानगर दिवसको अवसर पारेर यस ठाउँबाट दमकल सेवा शुभारम्भ गरिएको थियो ।
क्षेत्रगत विपद्मध्येको आगलागी काठमाडौँका लागि प्रमुख समस्या बनेको छ । सहरी विकास अनियन्त्रित हुँदा सहरका सबै ठाउँमा अग्नि नियन्त्रणका लागि दमकल लैजान सक्ने अवस्था नरहेको पनि कामपाको भनाइ छ । दमकल पुग्ने ठाउँका लागि तीन वटा दमकल खरिद गर्ने तयारी गरिएको पनि कामपाको भनाइ छ ।
