रवि लामिछाने भैरहवा कारागार चलान

२५, चैत काठमाडौं । पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज जिल्ला कारागार भैरहवा पुर्‍याइएको छ ।

शुक्रबार राति आफ्नै निवास काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई चैत २३ गते नै यति एयरलाइन्सको विमानमार्फत बिहान ९:१२ बजे गौतमबुद्ध विमानस्थल अवतरण गराई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको थियो ।

सरकारी बिदाका कारण दुई दिन हिरासतमा बिताएका लामिछानेलाई आज जिल्ला अदालत रुपन्देही लगेर थुनुवा पुर्जी दिई कारागार ल्याइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । अब अदालतको फैसला नआउन्जेल उनी सोही कारागारमा रहने छन् ।

गत शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई सहकारीको रकम ठगेको कसुरमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो ।