नयाँ वर्षसँगै बढ्यो पर्यटकको चहलपहल, व्यवसायी उत्साहित

३१, चैत काठमाडौं । नयाँ वर्ष २०८२ को आगमनसँगै मुलुकको पर्यटन क्षेत्रमा पर्यटकको चहलपहलका कारण उत्साह थपिएको छ । वसन्त ऋतुको आगमन र विद्यालयको वार्षिक शैक्षिक बिदाका कारण अभिभावक आफ्ना सन्ततिलाई लिएर आन्तरिक पर्यटन प्रवर्द्धनमा निस्किएका छन् भने सरकारी कर्मचारीको पनि वार्षिक बिदा सक्नुपर्ने भएकाले बिदामा पर्यटकीय गन्तव्यमा पुगेका छन् ।

जसका कारण पूर्वको पाथीभरादेखि पश्चिमको शैलेश्वरीसम्मका धार्मिकस्थलमा अहिले धार्मिक पर्यटकको चहलपहल बढेको छ । यसले पर्यटन प्रवर्द्धनसँगै मुलुकको अर्थतन्त्रसमेत चलायमान हुन पुगेको छ । मुलुकभित्रका प्रमुख पर्यटकीय गन्तव्यमा आन्तरिक पर्यटकको बाक्लो उपस्थिति रहेको छ । होटल संघ नेपाल (हान) का अध्यक्ष विनायक शाहका अनुसार नयाँ वर्षको पूर्वसन्ध्यामा अधिकांश पर्यटकीय गन्तव्यमा पर्यटकको चहलपहल बढेको छ ।

‘मुलुकभरका होटलहरुमा न्यूनतम ३५ देखि झण्डै कुनै स्थानमा शतप्रतिशतसम्म अकुपेन्सी पुगेको छ । केही समय सुस्ताएको व्यवसायमा नयाँ आशा सञ्चार भएको छ ठमेल, पोखरा, सौराहा, लुम्बिनी, भेँडेटारलगायत क्षेत्रमा ‘न्यू इअर इभ’ कार्यक्रम आयोजना गरिएको छ, यसले पर्यटनलाई थप चलायमान बनाएको छ ।’

देशका प्रमुख पर्यटकीय गन्तव्य स्थल पाथीभरा, इलाम, तीनजुरे, धरान, भेडेटार, वसन्तपुर, मकालु आधार शिविर, खुम्बु क्षेत्र, सगरमाथा आधारशिविर, लुक्ला, बराहक्षेत्र, बुढासुब्बा, हलेसी, दन्तकाली, केचनाकवल, छिन्नमस्ता, जनकपुरधाम र भरततालमासमेत धेरै सङ्ख्यामा पर्यटक पुगेका छन् ।

त्यस्तै, कालिञ्चोक, चरिकोट, शैलुङ, जिरी, पाँचपोखरी, हेलम्बु, पनौती, पलाञ्चोक भगवती, चितवन राष्ट्रिय निकुञ्ज, सौराहा, हेटौँडास्थित मदनभण्डारी पार्क, पालुङ, दामन, लाङ्टाङ, गोसाइँकुण्ड, नुवाकोट दरबार, बन्दीपुर, पोखरा, गोरखादरबार क्षेत्र, कपिलवस्तु, तिलौराकोट, रामग्राम, बुटवल पाल्ला, लुम्बिनी पर्यटकको प्रमुख गन्तव्य मानिन्छन् ।

बर्दिया राष्ट्रिय निकुञ्ज, ढोरपाटन, कर्णाली पुल, काँक्रे बिहार, बुलबुले ताल, शुक्लाफाँटा, दोधारा–चादनी झोलुङ्गे पुल, अपि सैपाल हिमाल, स्वर्गद्धारी, सुपादेउराली, बागलुङ कालिका, गलेश्वर, मुक्तिनाथ, लोमान्थाङ, दाङ, घोडाघोडी, धारापानी, शैलेश्वरी, बडिमालिका, राराताल, बागेश्वरी, स्वर्गद्धारी, रानीमल पछिल्लो समय पर्यटकको आकर्षणको केन्द्र बनेका छन् ।