एमालेले ७ जनालाई ‘कम्युनिष्ट योद्धा’ का रूपमा सम्मान गर्ने,वैशाख ११ लाई ‘युथ सेलिब्रेसन’ का रुपमा मनाउने

सीता पौडेल(अर्चना)

२ वैशाख,काठमाडौं । नेकपा (एमाले)ले कम्युनिष्ट आन्दोलनमा योगदान गर्नेहरूलाई सम्मान गर्ने भएको छ ।

यहि वैशाख ९ गते पार्टीको ७६ औँ स्थापना दिवसको अवसरमा सम्मान गरिने एमाले केन्द्रिय सचिवालयको  सोमबार सम्पन्न ४८ औं बैठकले निर्णय गरेको हो।साथै सो बैठकले लोकतान्त्रिक गणतन्त्रको विजारोपण भएको र जनताले जितेको ऐतिहासिक दिनका रुपमा वैशाख ११ गतेलाई ‘युथ सेलिब्रेसन’का रुपमा मनाउने निर्णय समेत गरेको छ ।केन्द्रिय प्रचार तथा प्रकाशन विभागले जनाएको छ ।

केन्द्रिय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार नेपाली कम्युनिष्ट आन्दोलनलाई नयाँ कार्यदिशा,ऊर्जा र सङ्कल्पका साथ अगाडि बढाउनुका साथै कम्युनिष्ट आन्दोलनमा महत्त्वपूर्ण योगदान पु¥याउनुभएका विशिष्ट योद्धाहरूलाई ‘कम्युनिष्ट योद्धा’ को रुपमा उक्त दिन सम्मान गरिने भएको हो ।

सम्मानित हुनेहरूमा लालबहादुर विश्वकर्मा (कञ्चनपुर),स्वर्गीय रत्न शर्मा न्यौपाने (जाजरकोट),शोभाराम बस्नेत (दाङ),वाचस्पति देवकोटा (गोरखा),शान्ता मानवी (काठमाडौं),सत्य नारायण मण्डल (सप्तरी) र हरिचरण सिवाकोटी (झापा) रहनु भएको प्रमुख गौतमले जानकारी दिनुभयो।जाजरकोटका न्यौपानेको भने मृत्यु भइसकेकाले मरणोपरान्त सम्मान गर्न लागिएको पनि उहाँले बताउनु भयो ।

नेकपाको सो बैठकमा मुलुकको समसामयिक विकसित राजनीतिक घटनाक्रमहरुलाई उजागर गर्दै यस परिवेशका सन्दर्भमा गहन र विस्तृत रुपमा छलफल भएको  र निकै गम्भीरतापूर्वक लिइएको पनि एमाले केन्द्रिय सचिवालयले जनाएको छ ।