आज लोकतन्त्र दिवस,नेकपा एमालेले युथ सेलिब्रेसनका रुपमा १ लाख युवा भेला गरी मनाउँदै

११ वैशाख,काठमाडौं । आज बैशाख ११ गते,लोकतन्त्र दिवस हो । प्रजातान्त्रिक तथा लोकतान्त्रिक संघर्षमा अमूल्य जीवन उत्सर्ग गर्ने शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै देशभर  आज लोकतन्त्र दिवस  विभिन्न कार्यक्रमगरी मनाइँदैछ।

तत्कालीन राजा ज्ञानेन्द्र शाहले २०५९ जेठ ८ मा विघटित संसद्को पुनःस्थापना गरी आफू देशको कार्यकारी प्रमुखबाट हटेको तथा निरङ्कुशता पराजय भएको ०६३ वैशाख ११ को स्मरण गर्दै लोकतन्त्र दिवस मनाइन्छ।

सोही दिनको अवसरमा नेकपा (एमाले)ले आज बिहिबार दिउँसो १ बजे देशभरका १ लाख युवाहरुको भृकुटी मण्डपपमा भेला गराई युवा उत्सव मनाउन लागेको जनाएको छ ।

पूर्वराजा शाहले ‘राज्यशक्तिको स्रोत नेपाली जनता नै भएको र नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा नै निहित रहेको तथ्यलाई हृदयङ्गम गर्दै त्यस जनआन्दोलनमार्फत अभिव्यक्त भएको जनभावनाअनुरुप प्रतिनिधिसभालाई पुनःस्थापित गरिएको घोषणा गरेका थिए ।

निरङ्कुशताको विरोधमा आन्दोलनरत सात राजनीतिक दलसहित तत्कालीन विद्रोही पार्टी नेकपा (माओवादी)सहितको सहभागितामा भएको सो जनआन्दोलनको राजाले उक्त घोषणा गर्न बाध्य भएका थिए । र ०६३ वैशाख १५ गते प्रतिनिधिसभाको बैठक आह्वान गरिएको थियो।

राज्यद्वारा उपलब्ध गराउनुपर्ने सेवासुविधा जनताको घरदैलोमै सरल र सहज रूपमा पुर्‍याउने तथा विपद्का बेलामा तत्कालै राहत र सहयोग उपलब्ध गराउने सन्दर्भमा संघीताको अभ्याससँगै संघ,प्रदेश र स्थानीय तहबीचको समन्वयले प्रभावकारी र सकारात्मक नतिजा प्रदान गर्दै आएको छ।

२०६२ ÷६३ को आन्दोलनपछि तत्कालीन राजाको प्रत्यक्ष र निरङ्कुश शासनको अन्त्य भएको दिनको सम्झनामा २०६५ सालदेखि वैशाख ११ गते लोकतन्त्र दिवस मनाउन थालिएको हो।

जनआन्दोलनका बलमा स्थापना भएको लोकतन्त्रपछि भएका दुईवटा संविधानसभाको निर्वाचनद्वारा गठित संविधानसभाबाट २०७२ साल असोज ३ गते जारी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले नेपाललाई संघीयतामा प्रवेश गराएको थियो।

सोही बमोजिम अहिले मुलुक संघीयताको अभ्यासमा छ।