राष्ट्रपति पौडेल र युएईका उपप्रधानमन्त्री नाह्यानबीच शिष्टचार भेट

११ वैशाख,काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त अरब इमिरेट्स (युएई)का उपप्रधानमन्त्री तथा विदेशमन्त्री महामहिम शेख अब्दुल्लाह बिन जायेद अल नाह्यानले शिष्टचार भेट गरेका छन् । नेपालको दुईदिने औपचारिक भ्रमणमा रहेका युएईका उपप्रधानमन्त्री नाह्यानले राष्ट्रपति भवन शितल निवासमा बुधबार भेट गरेका हुन् ।

राष्ट्रपतिका प्रेस सल्लहकार किरण पोखरेलका अनुसारा भेटमा राष्ट्रपति पौडेलले विश्वका सबै देशहरूलाई जलवायु परिवर्तन विरुद्धको कार्यलाई तीव्र बनाउन आग्रह गर्दै श्रोत साधन आवश्यक भएका देशहरूलाई जलवायु परिवर्तन र यसबाट सिर्जित क्षतिपूर्तिका लागि प्राविधिक र आर्थिक सहयोग प्रदान गर्न समेत अनुरोध गरेका छन् ।

उनले विश्व मञ्चहरुमा जलवायु न्यायका लागि आफूले आवाज उठाउँदै आएको र नेपाल जलवायु परिवर्तनको मारमा परिरहेको बताउँदै नेपाल र संयुक्त अरव इमिरेट्सले पहाडी र तटीय मुलुकहरूको रूपमा जलवायु परिवर्तनको प्रतिकूल प्रभावको साझा जोखिमको सामना गरिरहेको र जलवायू परिवर्तनबाट सिर्जित विपदले हाम्रो दूर्लभ श्रोतसाधनलाई प्रतिकुलता प्रदान गरेको उल्लेख गरेको उनले बताएका छन्।

सो अवसरमा (युएई)का उपप्रधानमन्त्री नाह्यानले जलवायु न्यायका सम्बन्धमा राष्ट्रपति पौडेलको भनाईको उच्च कदर गर्दै तथा ती भावनालाई मार्गदर्शनका रुपमा लिने बताएको सल्लाहकार पोखरेलले जानकारी दिए ।

‘जलवायु परिवर्तनका क्षेत्रका कार्यलाई कठिनाई भइरहेको छ । तर यो मानव सिर्जित समस्या हो र हामीले भावि सन्ततीलाई सुन्दर विश्व हस्तान्तरण गर्नैपर्छ’, नाह्यानको भनाई उदृत गर्दै सल्लाहकार पोखरेलले बताए ।