
सीता पौडेल(अर्चना)
११ वैशाख,काठमाडौं । महिलाहरुको शसक्तिकरण र बाह्य सुरक्षाको लागि बुढानीलकण्ठ नगरपालिका (बुनपा) वडा नं १ ले वल्र्ड बाँक्सिङ (डब्लुविसी) मुई थाईसँगको सहकार्यमा ‘इएफएस फाइट नाइट सिक्स’ आयोजना गर्ने भएको छ ।


बुधबार बुनपाको सभाहलमा पत्रकार सम्मेलन गरेर वडा अध्यक्ष सुरेन्द्र लामाले सो खेल हुने बारे जानकारी दिएका हुन् । उक्त पत्रकार सम्मेलनमा अध्यक्ष लामाले महिला सुपर फलाइजेट मुई थाई राष्ट्रिय विभाग अन्तर्गत यहि वैशाख १३ गते (२६ अप्रिल,२०२५) का दिन बुनपाको लेमन ट्री प्रिमियर होटलको खेल मैदानमा ‘डब्लुविसी मुई थाई न्याशनल च्याम्पियनसिप’ को लागि प्रतिष्पर्धा हुने बताए ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने सो खेल प्रतियोगितामा देशका पाँच प्रदेश र २१ जिल्लाबाट एपीएफ र नेपाल आर्मीका खेलाडीसमेत गरि ३० जना उत्कृष्ट खेलाडीहरुले आफ्नो प्रतिभा प्रदर्शन गर्ने पनि उनले जानकारी दिए ।


पत्रकार सम्मेलनमा डब्लुविसी मुई थाई नेपालका अध्यक्ष राजु राईले थाइल्याण्डको राजधानी बैंककमा स्थापित उक्त खेललाई नेपालमा पनि स्थापित गर्ने र पेशेवर खेलाडीहरुको विकाससँगै विश्वभर नै नेपाली मुई थाई खेलाडीहरुको विकास गरि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका च्याम्पियनशिप आयोजना गर्ने लगायतका विभिन्न उद्देश्यले सन् २०२१ अगष्ट २७ मा बुनपामा डब्लुविसी मुई थाई नेपालको स्थापना गरिएको बताए ।

साथै उनले नेपालमा खेलको माध्यमबाट संस्कृतिको प्रवद्र्धन गर्ने,पारदर्शी ¥याङकिङ प्रणाली लागू गर्ने,मोई थाईमार्फत नेपाली खेलाडीहरुको जीवन स्तर उकास्ने र महिलाहरुको शसक्तिकरणमा टेवा पु¥याउने उद्देश्यले डब्लुविसी मुई थाई नेपाल स्थापना भएको र सो खेलको आयोजना गरिएकोसमेत स्पष्ट पारे ।
पत्रकार सम्मेलनमा नेपाल राष्ट्रिय मुई थाईका सचिव एवम् डब्लुविसी मुई थाईका महासचिव दिपक तामाङले सो प्रतियोगिताका दिन मुई थाई र बक्सिङ दुवै खेलको प्रतियोगिता हुने बताए ।यसले नेपालको फाइटिङ स्पोर्ट्समा थप प्रेरणा प्रदान गर्ने उनको भनाई छ ।


उनका अनुसार सो प्रतियोगितालाई नेपाल राष्ट्रिय मुई थाई संघसँगै नेपाल बाँक्सिङ महासंघले पनि सहयोग गरेको छ भने यसमा ओपेरल पार्टनरका रुपमा नाइन सेभेनसेभेन एथलेटिक डिपार्टमेन्ट,प्रसारण पार्टनरमा पीएसएन,मेडिकल पार्टनरमा चिरायु अस्पताल,सर्ट एण्ड सुटिङ पार्टनरमा श्रीनाथ कलेक्सन,फुड पार्टनरमा नेवाः गोलफु ची: लगायत रहेका छन् ।भने,लेमन ट्री प्रिमियर हस्पिटालिटी पार्टनर रहेको छ ।
उक्त पत्रकार सम्मेलनमा मुई थाई,बक्सिङ र खेलकुद् क्षेत्रका थप प्रगति,आगामी कार्ययोजना र प्रतियोगिताहरूका सम्बन्धमा समेत जानकारी गराइएको थियो ।


