‘बलियो शक्ति भएकै कारण एमालेमाथि चौतर्फी प्रहार’: शंकर पोखरेल

१२, वैशाख काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मुलुकको सबैभन्दा बलियो राजनीतिक शक्ति अहिले एमाले भएकाले चौतर्फी प्रहार भइरहेको बताएका छन् ।

शुक्रबार प्रेस चौतारी नेपालको दोस्रो पूर्ण बैठक तथा सम्मान कार्यक्रममा उनले सो कुरा बताएका हुन् । ‘अहिले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार छ, बलियो शक्तिलाई कमजोर बनाउन राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिले घेराबन्दी गरेको साँचो हो, तर मुलुकको हितमा एमाले समर्पित छ, डगमगाउँदैन’ उनले भने ।

विचार निर्माताहरू नै अहिले बाहिरको शक्तिबाट परिचालित रहेको चर्चा गर्दै महासचिव पोखरेलले भने, “स्वतन्त्र विचार राख्ने र देश र जनताको पक्षमा विचार निर्माण गर्नेहरूको उपस्थिति कमजोर देखिएको छ, विदेशी सहयोगमा धेरै अनुसन्धानको काम हुने गर्छ, हामीले चाहेजस्तो वैचारिक बहस हुन सकेको छैन ।”

राष्ट्रियता, विकास समृद्धि र सामाजिक न्यायको मुद्दामा एमाले जति अब्बल अरु कुनै शक्ति मुलुकमा नरहेको चर्चा गर्नुहुँदै महासचिव पोखरेलले भने, “राष्ट्रियता, मुलुकको सम्प्रभुता, आर्थिक समृद्धि र सामाजिक न्यायमा कसैसँग सम्झौता गर्दैनौँ, त्यो हाम्रो मुद्दा हो ।”

गत फागुन ७ गते पूर्वराजा ज्ञानेन्द्रले भिडियो सन्देश दिएपछि हौसिएका राजावादीहरूका कारण चैत १५ गते तीनकुनेमा घटना घटेको भन्दै उनले त्यसको जिम्मेवार पूर्वराजा ज्ञानेन्द्र भएको स्पष्ट पारे ।