
१५, वैशाख काठमाडौं । चर्चित पर्वतारोही कामीरिता शेर्पाले केही दिनअघि सगरमाथा आधार शिविरबाट ‘माउन्टेन घर’ भनेर सामाजिक सञ्जालमा एउटा भिडियो पोष्ट गरे ।
रङ्गी चङ्गी पालले सजाइएका चिटिक्कका पाल ९टेन्ट०हरु उक्त भिडियोमा देखिन्छ । शिविरको दृश्य हेर्दा लाग्छ आधार शिविर यतिखेर विश्वको सुन्दर गाउँको रुपमा परिणत भएको छ । विश्वभरका आरोही यतिखेर सगरमाथा आरोहणका लागि आधार शिविर पुगेका छन् । आरोहीको भीडभाड र चहल पहलले बेग्लै रौनकता छाएको छ ।
‘सगरमाथा आधार शिविर सानो संसारै जस्तो छ, विश्वभरिका मानिस जम्मा भएका छन्’, सगरमाथा आधार शिविरमा रहेका पर्वतारोही लाक्पा शेर्पाले भने, ‘आधार शिविर विश्वको कुनै एउटा गाउँजस्तो भएको छ । उल्लासमय वातावरण छ ।’
३० पटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान बनाउनुभएका कामीरिता आफ्नै कीर्तिमानी तोडेर ३१औं आरोहणका लागि सगरमाथा पु गेका हुन् । आधारशिविर रङ्गीचङ्गी पाल र आश्रयस्थलले बेहुली झै सिँगारिएको छ ।
समुद्री सतहबाट पाँच हजार ३६४ मिटर उचाइमा रहेको आधारशिविर क्षेत्रमा ‘लाउन्ड्री’, ‘क्याफे’, ‘बार’ आदिको व्यवस्थापन गरिएको छ । पाँच सय भन्दा बढी पाल टाँगिएका छन् । आरोही, सहयोगी, कुक, किचन हेल्पर गरी एक हजार तीन सयभन्दा बढी आधार शिविरमा छन् ।
एटके एक्सपीडिसन कम्पनीका प्रबन्ध निर्देशक लाक्पा शेर्पाले विभिन्न कम्पनीले आरोहीको खाना तथा बास व्यवस्थापनका लागि बनाइएका रङ्गी विरङ्गी पालका सजावटले आधारशिविर रमाइलो देखिएको बताए ।
