शंकर पोखरेलले भने ‘समृद्धिको जिम्मेवारी युवाको काँधमा’

२६, वैशाख काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपाली जनताको खुसी र राष्ट्रको समृद्धिको जिम्मेवारी युवा वर्गको काँधमा रहेको बताएका छन् ।

राष्ट्रिय युवा संघ नेपालको आगामी जेठ ९ देखि ११ गतेसम्म पोखरामा हुने १० औँ महाधिवेशनको पूर्वसन्ध्यामा हिजो पोखरामा आयोजित युवा भेलाको उद्घाटन गर्दै महासचिव पोखरेलले युवा शक्तिले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताएका हुन् ।

एमालेले पार्टीका सबै तहमा युवालाई आरक्षणको व्यवस्था गर्दै अघि बढाइरहेको उल्लेख गर्दै महासचिव पोखरेलले यसबाट नयाँ चिन्तन भएका युवापुस्ताको विकास हुने विश्वास व्यक्त गरे । कृषिलाई आधुनिक एवं प्रविधिमैत्री बनाउँदै युवावर्गको आकर्षण बढाउनुपर्नेमा उनको जोड थियो ।

मुलुकमा राजनीतिक अस्थिरताका कारण विकास निर्माणले गति लिन नसकेको उल्लेख गर्दै महासचिव पोखरेले भने, “देशलाई अब राजनीतिक स्थायित्वको दिशामा अघि बढाउन राष्ट्रिय शक्ति एकजुट हुन आवश्यक छ ।”