
२६, वैशाख काठमाडौं । दक्षिण एसियाका दुई शक्तिशाली देशहरू भारत र पाकिस्तानबिच द्वन्द्व चर्किँदै गएपछि नेपाल र भारत दुवै देशका सुरक्षाकर्मीहरूले नेपालगन्ज सीमा नाकामा कडाइ बढाउँदै लगेका छन् ।
सो क्रममा यहाँस्थित नेपाल भारत जमुनाहा नाकामा सुरक्षा कडाइ बढाउँदै नेपालगन्ज नाकाबाट आवागमन गर्नेहरूका लागि सशस्त्र प्रहरीले परिचय–पत्र अनिवार्य गरेको छ ।
सशस्त्र प्रहरी बल ३० नम्बर गण बागेश्वरी बाँकेका प्रमुख एसपी शोभाकान्त खनालले नाकामा सुरक्षा सतर्कता बढाउने निर्देशनबमोजिम सुरक्षा कडा पारिएको जनाउँदै परिचय खुल्ने कागजात भएका भारतीयलाई मात्र नेपाल प्रवेश गर्न दिएको बताए । उनले परिचय खुल्ने कागजात नभएका भारतीयको बारेमा सोधखोज गरेर मात्र आउन दिइएको पनि बताएका छन् ।
यसअघि गत केही वर्षदेखि भारतीय सुरक्षा निकाय सीमा सशस्त्र बल (एसएसवी) ले रुपैडिहा नाकामा आवागमन गर्ने नेपाली र भारतीय सबै नागरिकहरूका लागि परिचयपत्र अनिवार्य गरेको थियो । हाल आएर सशस्त्र प्रहरी बल नेपालले पनि नेपालगन्ज नाकामा परिचयपत्र हेर्न थालेको हो ।
