नेपालको संविधानले सबै जातिको अधिकार सुनिश्चित गरेको छ : मन्त्री गुरुङ

२८, वैशाख काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालको संविधानले सबै जातिको अधिकारको सुनिश्चित गरेको बताएका छन् । हिजो यहाँ नेपाल शेर्पा सङ्घ बागमती प्रदेशको दोस्रो अधिवेशनमा मन्त्री गुरुङले संविधान संशोधन गर्ने भनिए पनि बाहिर हल्ला भएजस्तो कुनै पनि विषयमा टुङगो नलागेको बताए ।

मन्त्री गुरुङले भने, ‘संविधान संशोधन गर्ने भनेका छौँ तर कुनै समुदायलाई हानी गर्ने किसिमले त्यो गरिँदैन, गरिनुहुँदैन । संविधानसभामार्फत निर्माण भएको संविधानले जसरी सबै जातजाति र समुदायको भावनालाई समेटेको छ, त्यही नै कायम रहन्छ । केही राजावादीले गरिरहेको हल्लामा सत्यता छैन, उनीहरूले राजा ल्याएर एउटा धर्मको राज्य बनाउने सपना नदेख्दा हुन्छ ।’

उनले समानुपातिक प्रणालीकै कारण सबै जातजातिको प्रतिनिधित्वसुनिश्चित भएको भन्दै यो प्रावधानले राज्य सञ्चालनमा अस्थिरता ल्याएको भन्ने तर्क सही नरहेको धारणा राखे । ‘धर्मनिरपेक्षता हटाउने, निर्वाचन प्रणालीमा फेरबदल गर्ने जस्ता कुराका विषयमा खबरदारी गर्न सक्नुपर्छ ।

शेर्पा सङ्घ वा जनजाति महासङ्घले आफ्ना हकअधिकार खोसिन लागेको महसुस भएमा आवाज उठाउन सक्नुपर्छ, किनकि अहिलेको संविधानले सबैको अधिकारको सुनिश्चित गरेको छ’, मन्त्री गुरुङले भने ।