विदेशका नेपालीलाई सोबिताको आह्वान- ०८४ मा फर्कने अभियान बनाउनुस्

२८, वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले विदेशमा रहेका नेपालीलाई आगामी निर्वाचनमा सहभागी हुन आह्वान गरेकी छिन् ।

शनिबार दोलखाको जिरीमा आयोजित संगठन सवलीकरण तथा जागरण अभियानलाई सम्बोधन गर्न पुगेकी सांसद गौतमले विदेशमा रहेका नेपालीलाई भोट हाल्न पाउने व्यवस्था गराउन सरकारले बेवास्ता गरेकोप्रति आपत्ति जनाइन् ।

‘यतिबेला सर्वोच्च अदालतले विदेशमा रहेका नेपालीलाई पनि भोट हाल्न पाउने व्यवस्था गर भनेर राज्यलाई निर्देशन दिएको छ । तर, सरकारले सुने पनि नसुनेजस्तो गरेर बसेको छ,’ गौतमले भनिन् ।

विदेशमा बस्ने नेपालीलाई निर्वाचनमा भोट हाल्ने कानुन बनाउँदा रास्वपाको मत बढ्छ भन्ने डर वर्तमान गठबन्धनका दलहरूलाई रहेको सांसद गौतमको जिकिर छ ।

‘उहाँहरूलाई थाहा छ भोलि विदेशमा बस्ने नेपालीलाई निर्वाचनमा भोट हाल्ने कानुन बनाइयो भने त्यो भोट रास्वपालाई नै जाने हो भनेर, त्यही भएर यो बीचमा रोकिराख्नुभएको छ,’ उनले भनिन् ।