
२९, वैशाख काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा अशान्ति बढिरहेका बेला बुद्ध दर्शन र शिक्षाको उपादेयता बढेको बताएका छन् ।
लुम्बिनीमा आज आयोजित २५६९ औँ बुद्धजयन्ती एवम् लुम्बिनी दिवस २०८२ मूल समारोहलाई सम्बोधन गर्दै उनले अहिले विश्वमा बढ्दै गएको द्वन्द्व र हिंसालाई हतियारले होइन बुद्ध दर्शनले मात्रै रोक्न सक्ने बताएका हुन् ।
‘हाम्रो छिमेकी देश भारत र पाकिस्तान पनि युद्धमा जान खोजेका थिए, तर सबैको दबाबमा तत्कालका लागि फिर्ता भएका छन्, अझै पनि केही समस्या छन्, अन्य मुलुकमा पनि यस्ता समस्या छन्, बुद्ध भूमिबाट विश्वमा शान्तिको कामना लागि हामीले अनुरोध गरेका छौँ’ उनले भने ।
विश्वमा जल, थल र वायुबाट समेत आक्रमण गर्न सक्ने खतरनाक हतियार निर्माण भइरहेको अवस्थामा त्यसलाई रोक्न बुद्धको शान्ति, करुणा र मानवताको उपदेशले मात्रै सम्भव हुने ओलीले बताए ।
