‘पर्यटन क्षेत्रलाई चलायमान बनाउन राष्ट्रिय ध्वजावाहक सबल हुनुपर्छ’ : पर्यटन मन्त्री पाण्डे

२, जेठ काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मुलुकको कुल गार्हस्थ्य उत्पादनको प्रमुख आधार रहेको पर्यटन क्षेत्रलाई चलायमान बनाउन राष्ट्रिय ध्वजावाहक अपरिहार्य रहेको बताए । नेपाल वायुसेवा निगमको अन्तर्राष्ट्रिय स्टेशनहरूको दुईदिने समीक्षा बैठकमा उनले राष्ट्रिय ध्वजावाहकलाई सबल तथा सक्षम बनाउन थप जहाज प्राप्ति र व्यवस्थापकीय सुधार सँगसँगै लैजानुपर्ने धारणा राखे ।

पर्यटन मन्त्री पाण्डेले आपतविपद्का समयमा नेपालको हवाई भाडामा हुने अस्वाभाविक कार्टेलिङ रोक्न निगमको हस्तक्षेपकारी उपस्थिति अत्यावश्यक रहेको र सो प्रयोजनका निमित्त पनि आन्तरिक तथा अन्तर्राष्ट्रिय क्षेत्रमा उडान गर्न निगमलाई थप जहाज आवश्यक पर्ने बताउँदै सोका लागि मन्त्रालयस्तरबाट सकारात्मक सहयोग हुने धारणा राखे ।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले निगमको अन्तर्राष्ट्रिय स्टेशनहरूमा खटिएर जाने कर्मचारीहरू निगमको मात्र नभई समग्र देशको समेत प्रतिनिधित्व गर्ने भएकाले इमान्दारितापूर्वक निगम र राष्ट्रको अधिकतम हित हुनेगरी कार्य गर्न आग्रह गरे। उनले निगममा थप जहाज प्राप्तिका लागि जहाज लिज प्रक्रिया अगाडि बढाइएको जानकारी दिए ।

सातवटै प्रदेश सरकारको सहकार्यमा दुर्गम क्षेत्रमा उडान गर्ने जहाज खरिदका निमित्त पहल भइरहेको तथा गण्डकी प्रदेश सरकारसँग संयुक्त कार्यदल गठन गरी प्रक्रिया अगाडि बढाउने सहमति भएको पनि जानकारी दिए ।