
२, जेठ काठमाडौं । बहुप्रतिक्षित सगरमाथा संवादको उद्घाटन समारोहका विशिष्ट वक्ताहरूले जलवायु सकंट समाधानमा विश्वव्यापी सहकार्यमा जोड दिएका छन् । आजदेखि यहाँ सुरु भएको समारोहमा उनीहरूले जलवायु परिवर्तनका असरबाट जुध्न एक्लाएक्लै प्रयासले मात्रै सफलता हासिल नहुने उल्लेख गरे ।
समारोहमा परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनले मानवताको भाग्यमात्र होइन भविष्य नै खतरामा पार्दै गएको बताइन् । संवादको पहिलो संस्करणको उद्घाटन सत्रमा उनले भनिन्, ‘जलवायु परिवर्तन अब कुनै क्षेत्र र देश विशेषको नभएर विश्वकै समस्या भएको छ, यसले सिङ्गो मानवतालाई नै सकंटमा पार्दै गएको छ ।’
सो विश्वव्यापी सकंटसँग जुध्नका लागि कुनै पनि देशको आफ्नो एक्लो प्रयास पर्याप्त नभएकाले संयुक्त र सामूहिक प्रयासका साथ अघि बढ्नुपर्ने खाँचो रहेको उनले बताइन् ।
यही सामूहिक प्रयासको सुरुआत सगरमाथा संवाद भएको उल्लेख गर्दै मन्त्री डा राणाले भनिन् ‘सगरमाथा संवाद’ ‘वादे वादे जायते तत्वबोधस्’ भन्ने आदर्श वाक्यबाट प्रेरित छ । यो आदर्श वाक्यले हामीलाई बहस र संवादको भावनामा र फरक विचार र दृष्टिकोणको आदानप्रदानमार्फत सत्य कुराको खोजी र प्राप्तिका लागि प्रोत्साहित गर्दछ ।
उनले संवादले प्रतिविम्ब र आत्मनिरीक्षणका लागि अवसर प्रदान गर्दछ भन्दै यस वर्षको सगरमाथा संवादको विषयवस्तु ‘जलवायु परिवर्तन, पहाड र मानवताको भविष्य’ रहेकाले यस विषयवस्तुभित्र रहेर अब विश्वले नै जलवायु परिवर्तनका समस्याहरूको पहिचान र तिनको निदानका लागि संयुक्त प्रयास आवश्यक रहेको बताइन् ।
जलवायु परिवर्तनबाट नेपाल र विश्वकै वातावरण हाल जोखिममा रहेको भन्दै मन्त्री डा.राणाले इमान्दार संवाद र प्रभावकारी कार्यको अभावले मानवताको भविष्यलाई पनि ठूलो खतरामा पार्न सक्ने भएकाले समयमै सबैले सोच्नुपर्नेमा जोड दिइन् ।
