नारायणगढ–मुग्लिन सडकमा दुई ट्रक एक आपसमा ठोक्किँदा सात घाइते

८, जेठ काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डमा दुई ट्रक एक आपसमा ठोक्किँदा सात जना घाइते भएका छन् ।

भरतपुर महानगरपालिका–२९ गाइघाटमा बिहीबार बिहान करिब ६ः५० बजे नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६२८७ नम्बरको ट्रक र मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ना ६ ख ९८९७ नम्बरको ट्रक एक आपसमा ठोक्किँदा सात जना घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता रवीन्द्र खनालले दुबै ट्रकको अगाडिको भागमा क्षति पुगेको जानकारी दिनुभयो । ट्रकका चालकलाई च्यापिएको अवस्थामा उद्धार गरिएको छ । दुबै चालकको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । अन्य यात्रुको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।