त्रिवि उपकुलपति कार्यकक्षमा नेविसंघको तोडफोड,शिक्षाध्यक्षको कार्यालयमा तालाबन्दी

१४ जेठ,काठमाडौं ।नेपाली कांग्रेस निकट विद्यार्थीहरुको संगठन नेविसंघले त्रिभुवन विश्वविद्यालयको उपकुलपति प्रा.खड्क केसी र शिक्षाध्यक्ष प्रा.दुविनन्द ढकालको कार्यकक्षमा आज तोडफोड र तालाबन्दी गरेका छन् ।

नेविसंघले परीक्षाको बेला अनियमित विद्यार्थी भर्ना गर्न दबाब दिँदै त्रिवि पदाधिकारीहरुको कार्यकक्षमा तोडफोड र तालाबन्दी गरेको बताइएको छ ।

त्रिविको शैक्षिक क्यालेण्डर अनुसार स्नातक तहको प्रथम वर्षको परीक्षा असारभित्र गराउनुपर्ने उल्लेख  छ ।तर, नेविसंघका कार्यकर्ताहरुले भने शैक्षिक क्यालेण्डर विपरित यतिबेला विद्यार्थीको भर्ना लिन दबाब दिएको बताइएको छ ।

शैक्षिक सत्रको अन्तिममा आएर भर्ना नलिने र क्यालेण्डर अनुसार नै शैक्षिक गतिविधि गर्ने अडान भीसी र रेक्टरले अडान लिएपछि विद्यार्थी नेताहरुले संयुक्त विज्ञप्ति जारी गर्दै स्ववियु निर्वाचनको लागि भनेर त्रिविले गत माघ ११ गतेदेखि स्नातक तहको पहिलो वर्षको भर्ना रोकेकाले अहिले भर्ना हुन दिनुपर्ने माग अक्रोशमा सो हर्कत गरेको जनाइएको छ ।

परीक्षाको बेला अनियमित विद्यार्थी भर्ना गर्न दबाब र अवाञ्छित गतिविधिसँग झुकेर विश्वविद्यालयको क्यालेण्डर नबिगार्ने उपकुलपतिको अडान छ ।

स्ववियु निर्वाचनपश्चात भर्ना हुन पाउने विद्यार्थीहरुको अधिकार पहिलेदेखि नै चलिआएको उनीहरुको भनाइ छ ।

भर्ना नखोली विद्यार्थीहरुलाई पढ्नबाट बन्चित गरेमा त्रिवि पदाधिकारीहरुविरुद्ध जस्तोसुकै कदम चाल्ने उनीहरुले चेतावनी दिएका छन् ।