‘मुलुकको विकासका निम्ति दुवै छिमेकीको सहयोग अपरिहार्य’: ईश्वर पोखरेल

२०, जेठ काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मुलुकको विकासका निम्ति दुवै छिमेकी राष्ट्रको साथ एवं सहयोग अपरिहार्य भएको विचार व्यक्त गरेका छन् ।

चाइना फाउण्डेशन फर रुरल डेभलपमेन्टद्वारा जनकपुरको सरस्वती नमूना माध्यमिक विद्यालयलाई आज शैक्षिक सामग्री हस्तान्तरण गर्दै उनले दुवै छिमेकीले हासिल गरेको आर्थिक विकास हाम्रा लागि प्रेरक छ भने ।

उनले दुवै देशको सहयोगबाट मुलुकलाई विकासको पथमा अग्रसर गराउन सकिने बताए । देशको सामाजिक–आर्थिक विकासका लागि चीन सरकारबाट निरन्तर सहयोग प्राप्त भएकामा आभार व्यक्त गर्दै नेता पोखरेलले नेपाललाई शिक्षा तथा स्वास्थ्य क्षेत्रको विकासमा सहायता बढाउन आग्रह गरे ।

पूर्वमन्त्री जुलीकुमारी महतोले नेपालको भौतिक पूर्वाधारको निर्माणमा चीन सरकारले गरेको सहयोगको सराहना गरिन् ।विद्यालयका प्रधानाध्यापक नागेश्वर साहले विद्यालयको शैक्षिक उन्नयनका निम्ति चीन सरकारबाट प्राप्त सहयोगका निम्ति कृतज्ञता ज्ञापन गरिन् । नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाका अवसरमा चीन सरकारले सहायता सामग्री हस्तान्तरण गरेको हो ।