गृहमन्त्री लेखकद्वारा सामाखुसीमा विपद् व्यवस्थापन कार्यालयको निरीक्षण

२२, जेठ काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी प्रधान कार्यालय, नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुसीको निरीक्षण गरेका छन् । बुधबार गृहमन्त्री लेखकले भ्रमणको क्रममा उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिएका छन् ।

निरीक्षण भ्रमणका क्रममा गृहमन्त्री लेखकले विपद् सम्बन्धी कृत्रिम घटना उद्धार अभ्यास प्रदर्शन एवम् विपद् उद्धार सामाग्री भण्डार, विशिष्टीकृत उद्धारकर्ता समूहको अवलोकन गर्नुका साथै त्यस सम्बन्धी गतिविधिबारे जानकारी लिए । निरीक्षण पश्चात् आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले नेपालको भूगोल अत्यन्त जोखिमपूर्ण रहेको र हरहमेसा विपद्को सम्भावना रहेको हुँदा नेपाल प्रहरी जुनसुकै बेला पनि तत्काल परिचालन हुन सक्ने गरी तयारी अवस्थामा रहनुपर्ने बताए ।

देशमा शान्ति सुरक्षा अमन चयन कायम राख्ने, अपराधको नियन्त्रण तथा अनुसन्धानका साथै विपद् व्यवस्थापन पनि प्रहरीको महत्त्वपूर्ण जिम्मेवारी रहेको चर्चा गर्दै विपद्को समयमा कुनै पनि गुनासो नआउने गरी नागरिकको उद्धारमा अत्यन्त क्रियाशीलताका साथ खटिन उनले निर्देशन दिए।

कार्यक्रममा निमित्त गृह सचिव जयनारायण आचार्यले नेपाल प्रहरी विपद्को समयमा पहिलो पंक्तिमा रहेर उद्धारमा खटिने उल्लेख गर्दै विपद्‍मा आम नागरिकको उद्धार तथा राहतका लागि स्थानीय तह तथा अन्य सरोकारवाला निकायसँग समन्वय गरेर नागरिकको विश्वास जित्ने गरी उच्च मनोबलका साथ खटिनुपर्नेसमेत बताए ।

कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक दिपक थापाले विपद्का सम्भावित चुनौतीहरूको सामना गर्न नेपाल प्रहरी चौकी स्तरसम्म अन्य सुरक्षा निकायहरूसँगको समन्वयमा तत्काल परिचालन हुन सक्ने अवस्थामा रहेको बताए । विपद्का घटनामा उपलब्ध जनशक्ति र स्रोतसाधनको अधिकतम प्रयोग गरी थप व्यावसायिकता प्रदर्शन गर्दै प्रभावकारी ढंगले प्रहरी परिचालन गरी उद्धारमा खटिन उनले निर्देशन दिए ।