
२३, जेठ काठमाडौं । विपक्षी दलहरूको बैठक संसद् भवन नयाँ बानेश्वरमा सुरु भएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकक्षमा बैठक सुरु भएको हो । जहाँ माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०, नेकपा एकीकृत समाजवादीका नेताहरू सहभागी छन् ।
प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेका लागि बस्ने तय भएको थियो । त्यो भन्दा अगाडि नै बस्ने भनिएको विपक्षी दलहरूको बैठक केही ढिलो गरी सुरु भएको हो । भिजिट भिसा प्रकरणलाई लिएर विपक्षी दलहरूले प्रतिनिधि सभाको बैठकमा सरकारको जवाफ माग्दै आएका छन् ।
सुरुमा गृहमन्त्री रमेश लेखकको राजीनामा नै मागेको विपक्षी दलहरू पछिल्लो समय सरकारले भिजिट भिसा प्रकरणको छानबिन गर्ने प्रतिबद्धता जनाए सदन चल्न दिने अवस्थामा पुगेका छन् । तर, सत्तापक्षले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको विषयमा सरकारले छुट्टै अनुसन्धान गर्ने प्रतिबद्धता जनाइरहन आवश्यक नरहेको तर्कमा छन् ।
