
२५, जेठ काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ०८४ मा आफ्नो पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा विकास गर्ने गरी अघि बढेको बताएका छन् ।
अनेरास्ववियुको २४ औँ राष्ट्रिय महाधिवेशन उद्घाटन सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । ‘हाम्रो उद्देश्य मिसन ८४ कुनै अमूर्त कुरा होइन । मिसन ८४ भनेको नेकपा एमालेलाई निर्णायक शक्तिको रूपमा विकास गर्नु हो,’ प्रधानमन्त्री ओलीले भने, ‘राष्ट्रिय शक्ति छँदै छ । यसलाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा विकास गर्ने गरी हामी अघि बढेका छौँ ।’
उनले अबको १३ महिनापछि काँग्रेसलाई सरकारको नेतृत्व सुम्पिने र त्यसपछि आफूहरू मिसन ८४ मा लाग्ने प्रधानमन्त्री ओलीको भनाइ थियो ।‘अब १३ महिनापछि फेरि हामी नेपाली काँग्रेसलाई नेतृत्व सुम्पिन्छौँ । र हामी सरकारमा सामेल रहन्छौँ,’ प्रधानमन्त्री ओलीले भनेका छन् । उनले हिजो दुनियाँमै कम्युनिस्ट र समाजवादी आन्दोलन धरापमा परेको बेलामा पनि जनताको बहुदलीय जनवादले नै आन्दोलन रक्षा गरेको बताए ।
‘हिजो दुनियाँमा कम्युनिस्ट र समाजवादी आन्दोलन नै धरापमा परेको बेलामा जबजले आन्दोलनले रक्षा गरेको थियो,’ प्रधानमन्त्री ओलीले भने, ‘त्यतिबेला हामी सरकारमा हुने, सरकारको नेतृत्व गर्ने, सरकार सञ्चालन गर्ने, समग्र सामाजिक आन्दोलनको नेतृत्व गर्ने अभिभारा हामीसँग आएको थियो ।’ अहिले पनि विपक्षीदले अनेक जालझेल गरिरहेको प्रधानमन्त्री ओलीले बताए । उनले एकता, फेरि एकता र सुदृढ एकता आफूहरूको आवश्यकता रहेको बताए ।
