‘राज्यको चौथो अंगमामा महिलाको पहुँच र भूमिका अझै न्यून’ : पूर्वराष्ट्रपति भण्डारी

२६, जेठ ‘काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राज्यको चौथो अंगको रूपमा रहेको आमसञ्चार क्षेत्रमा महिलाको पहुँच र भूमिका अझै न्यून रहेको बताएकी छन् ।

झापामा आइतबार विर्तामोडमा आयोजित अक्षयकोष घोषणा, पुस्तक विमोचन र दाता सम्मान कार्यकमललाई सम्बोधन गर्दै पूर्वराष्ट्रपतिले आमसञ्चार जगतमा महिला सहभागिता क्रमशः विस्तार हुँदै आए पनि सङ्ख्यात्मक दृष्टिले महिलाको उपस्थिति अझै न्यून रहेको बताइन् ।

उनले समाचार सम्पादन, निर्णय र नीति निर्माणको तहमा महिलाको पहुँच र भूमिका सीमित रहेकामा चिन्ता व्यक्त गर्दै सञ्चारमाध्यमको नेतृत्व तहमा पनि यो सङ्ख्या न्यून रहेको बर्ताइन् । जनसङ्ख्याको आधा हिस्सा ओगटेका महिलासँग सम्बन्धित विषय सञ्चारमाध्यममा प्रभावकारी रूपमा उठाउन महिला पत्रकारको भूमिका महत्त्वपूर्ण रहने उनको भनाइ थियो ।

“महिला आफैँले प्रत्यक्ष रूपमा अनुभव गरेका, नजिकबाट देखेका र जीवनका विभिन्न चरणमा भोगेका मुद्दामा महिला पत्रकारद्वारा नै तयार गरिने सामग्रीमा थप संवेदनशीलता, आफ्नो पहिचान र यथार्थ समेटिएको हुन्छ”, पूर्वराष्ट्रपति भण्डारीले भनिन् । चुनौतीपूर्ण परिवेशका बाबजुद पनि महिला पत्रकारले देखाएको पेसागत दृढता, आत्मबल तथा सामाजिक परिवर्तनप्रतिको लगाव र प्रतिबद्धता प्रशंसनीय रहेको उनले बताइन् ।