
२६, जेठ काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ (सन् २०२५र२६) का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । “स्वच्छ, शान्त, समृद्ध, पर्यटकीय नगर बुढानीलकण्ठ” को मूल मन्त्रलाई आत्मसात् गर्दै नगरपालिकाले पूर्वाधार विकास, सुशासन प्रवर्द्धन र नवप्रवर्तनमैत्री प्रविधिको प्रयोगमार्फत समृद्ध नगर निर्माण गर्ने लक्ष्य राखेको छ ।
नगर सभामा प्रस्तुत नीति तथा कार्यक्रमले आर्थिक, सामाजिक, पर्यावरणीय र प्राविधिक क्षेत्रलाई समेट्दै नगरवासीको जीवनस्तरमा परिवर्तन ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ । नगरपालिकाले यो नीति नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन २०७४, संघीय तथा बागमती प्रदेशका नीति र दिगो विकास लक्ष्यमा आधारित रहेर तयार गरेको जनाएको छ । विभिन्न समितिका सिफारिस, राजस्व सुधार कार्य योजना र नगरपालिकाको दीर्घकालीन योजनालाई समेत समावेश गरिएको छ। नीतिमा सहभागितामूलक योजना निर्माण, पारदर्शिता र जनउत्तरदायित्वलाई सुनिश्चित गरिएको छ ।

नगरपालिकाले १४ वटा प्राथमिकता निर्धारण गरेको छ, जसमा गुणस्तरीय स्वास्थ्य र शिक्षा, दिगो पूर्वाधार, सूचना प्रविधिको अधिकतम उपयोग, वातावरण संरक्षण, आर्थिक विकास, पर्यटन प्रवर्द्धन र सामाजिक समावेशीकरण प्रमुख छन् ।
यस्तै बुढानीलकण्ठ नगरपालिकाले स्वास्थ्य सेवालाई प्राथमिकताको शीर्ष स्थानमा राखेको छ । नगर अस्पताललाई नागरिकमैत्री आधारभूत अस्पतालको रूपमा विकास गरी २४ घण्टा गुणस्तरीय सेवा प्रदान गर्ने योजना छ ।
अस्पतालमा फिजियोथेरापी, प्रसूति केन्द्र, सुरक्षित गर्भपतन, साना शल्यक्रिया, नवजात शिशु र बालरोग सेवा र विशेषज्ञसहितको ओपिडी सेवा सञ्चालन गरिनेछ। न्यूनतम सेवा मापदण्डअनुसार औषधि, उपकरण, प्रयोगशाला र एम्बुलेन्सको व्यवस्था गरिनेछ । शिक्षा क्षेत्रमा बुढानीलकण्ठले सामुदायिक विद्यालयलाई अभिभावक र विद्यार्थीको पहिलो रोजाइ बनाउने लक्ष्य राखेको छ । सामुदायिक र संस्थागत विद्यालयबीच साझेदारी र असल अभ्यासको आदानप्रदानमार्फत शैक्षिक खाडल न्यूनीकरण गरिनेछ।
सबै विद्यालयमा न्यूनतम सक्षमता शौचालय, खानेपानी, पुस्तकालय, प्रयोगशाला, खेलमैदान सुनिश्चित गरिनेछ । बुढानीलकण्ठ नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममार्फत युवा सशक्तीकरण र रोजगारीलाई प्राथमिकतामा राख्दै जेन–जी पुस्ता (सन् १९९७ देखि २) १२ बीच जन्मिएका, हाल १२ देखि २८ वर्ष उमेर समूहका युवा) लाई लक्षित नवप्रवर्तनशील कार्यक्रमहरू सञ्चालन गर्ने घोषणा गरेको छ। नगरपालिकाले खेलकुदलाई प्राथमिकतामा राख्दै “नगर मेयर कप” खेलकुद उत्सव आयोजना गर्ने भएको छ ।
कपन ह्यान्डबल, सुवर्ण शमशेर क्रिकेट मैदान, मुक्तान पोखरी फुटबल मैदानलगायतका खेलमैदानको पूर्वाधार विकास र व्यवस्थापन गरिनेछ । अपाङ्गतामैत्री खेलकुद पार्क निर्माण र उत्कृष्ट खेलाडीलाई बुढानीलकण्ठ खेलकुद पुरस्कार प्रदान गरिनेछ ।
सुशासन प्रवर्द्धनका लागि प्रविधिमा आधारित “डिजिटल डिमान्ड, डिजिटल सर्भ“ नीति अवलम्बन गरिनेछ। फाइल ट्र्याकिङ सिस्टम, बुढानीलकण्ठ मोबाइल एप र अन्तरक्रियात्मक वेबसाइटमार्फत सेवा प्रवाहलाई प्रभावकारी बनाइनेछ । हेलो बुढानीलकण्ठ डेस्कमार्फत नागरिकका गुनासो सम्बोधन गरिनेछ ।
