
२८, जेठ काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्र, राष्ट्रियता र जनताका मुद्दा बोकेर नेकपा एमाले अघि बढेको बताएका छन् ।
बुधबार मन्त्रीपरिषद् बैठकका निर्णय सुनाइसकेपछि सञ्चारकर्मीहरूको प्रश्नमा सरकारका प्रवक्ता गुरुङले आफूहरू झोल खाने नभई जनताका मुद्दा बोकेर हिँड्ने पार्टीका झोले भएको बताए । उनले आफूले नेकपा एमालेले उठाएका जनताका माग, मुद्दाको झोला बोकेर अहिलेसम्मको स्थितिमा आएको बताउँदै पार्टीको नीति सिद्धान्त, झण्डा बोकेकाले एमाले पार्टीको झोले हुनमा गौरववोध गर्नुपर्ने जिकिर गरे ।
मन्त्री गुरुङले भने, ‘झोल खानेलाई पनि झोले भन्छ, झोला बोक्नेलाई पनि झोले भन्छ । हामीले झोल खाने झोले भनेको होइन । हाम्रो अहिलेको प्रधानमन्त्री जो एमालेको अध्यक्ष पनि हुनुहुन्छ, उहाँले भन्न खोज्नुभएको झोले भनेको हामी पार्टीको झोला बोक्ने, जुन पार्टीमा झोला बोकेर काम गरेका छौँ, नीति सिद्धान्त, झण्डा पनि हो । एमालेको झोले हुन किन म तयार छु भने एमालेको झोलामा राष्ट्रवादको सिद्धान्त बोकेको छ ।
